नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ। निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ।
निर्वाचन समितिका अनुसार सभापति पदको मनोनयन दर्ता शुल्क ३० हजार रुपैयाँ तोकिएको छ। यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको समिति संयोजक सीताराम केसीले जानकारी दिए।
निर्वाचन समितिका संयोजक केसीले पत्रकार सम्मेलनमार्फत पुरानै विधानअनुसार निर्वाचन गराइने स्पष्ट पारे। उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्य गरी कुल १ सय ३४ पदका लागि निर्वाचन हुनेछ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएपछि भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।प्रहरीले महाधिवेशन प्रतिनिधिबाहेकका व्यक्तिलाई बाहिर जान भन्दै माइकिङ गरेको छ ।महाधिवेशन प्रतिनिधिहरुलाई हलभित्र पठाइएको छ । कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले पार्टीभित्र राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।