काठमाडौं, पुस २९ :

त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेको गाडी गणपति डिलक्स नै भएको पुष्टि भएको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेपछि प्रहरीको टोलीले खनेर निकालेको छ ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स २०८१ असार २८ गते बिहान पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पनि सोही बिहान पहिरोले पुरिएर त त्रिशूली नदीमा बेपत्ता भएको थियो। गणपति डिलक्समा सवार ३१ जनामध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए भने १४ जनाको शव फेला परेको थियो। अन्यको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ ।