
कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले निर्वाचनको समय नजिक आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वसहित कांग्रेसको पदाधिकारी टोली बिहीबार कानुनविद्हरूका साथ निर्वाचन आयोग पुगेर कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेट गर्दै पार्टीको विवरण अद्यावधिकका लागि निवेदन दिएको छ।
भेटका क्रममा सभापति थापाले भने, ‘निर्वाचनको समय आइसकेको छ, कानुनअनुसार सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा नेपाली कांग्रेसको विवरण आयोगमा अद्यावधिक हुनु आवश्यक छ। यसलाई ढिलाइ नगरी अघि बढाइदिन आग्रह गर्दछु।’
विशेष महाधविशेनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा नेतृत्वको टोली आयोगमा
उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन पार्टी विधानको धारा १७ को उपधारा २ बमोजिम सम्पन्न भएको जानकारी गराउँदै यो बाध्यकारी व्यवस्था अन्तर्गत भएको महाधिवेशन भएको स्पष्ट पारे। उक्त प्रावधानअनुसार आयोजित महाधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेकाले अब निर्वाचन आयोगको अभिलेखमा पार्टीको विवरण अद्यावधिक गर्नुपर्ने थापाको भनाइ थियो।
सभापति थापाले निर्वाचन आयोगसमक्ष विधान, महाधिवेशनका निर्णय र आवश्यक कागजातहरू पेश गर्दै कानुनसम्मत प्रक्रिया पूरा गरी समयमै निर्णय लिन आग्रह गरेका छन्। उनले विवरण अद्यावधिकमा ढिलाइ भए निर्वाचन प्रक्रियामा अनावश्यक जटिलता उत्पन्न हुन सक्ने उल्लेख पनि गरेका छन्।
कांग्रेस पदाधिकारी टोलीले आयोगसँग भेटमा कानुनी स्पष्टता र संवैधानिक दायित्वलाई ध्यानमा राखेर तत्काल निर्णय लिनुपर्ने आवश्यकता औँल्याएको छ।