
नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा आजदेखि लागू भएको छ । सरकारले मङ्सिर १६ गते बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने निर्णय गरेको थियो । सो निर्णय आजबाट लागू गरिएको हो । यसअघि १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो ।
अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा ५ लाख रुपैयाँभन्दा धेरै नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिद/बिक्री गर्दा पनि ५ लाख रुपैयाँभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन । तर नगद निकाल्न नपाए पनि बैंक वा वित्तीय संस्थामा निक्षेप नगद जम्मा गर्न जाँदा वा सावाँ ब्याज तिर्दा भने जतिसुकै रकम पनि राख्न सकिन्छ । बैंकहरूबीचको अन्तरबैंक कारोबारमा पनि जतिसुकै रकम कारोबार गर्न सकिन्छ ।
रेमिट्यान्स कम्पनी, सहकारी संस्था, पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक एवम् ज्याला भुक्तानीलगायतका लागि भने सीमाभन्दा धेरै कारोबार गर्न पाइन्छ ।