
निर्वाचन आयोगले कांग्रेसको आधिकारिताको टुंगो लगाउन दुबै पक्षसँग अहिले छलफल गरिरहेको छ। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापा पक्षले पार्टीको विधानमा भएको व्यवस्थाबारे जानकारी गराएको छ ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गएको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले विधानमा भएको विशेष महाधिवेशनको व्यवस्थाबारे व्याख्या गरेका छन्। देउवा पक्ष भन्दा अगाडि पुगेर जानकारी गराएको हो ।
देउवा पक्षबाट कार्यबहाक सभापति पूर्णबहादुर खड्कासहितको प्रतिनिधि पनि आयोग पुगेका छन् । दुबै पक्षले बुझाएको आधिकारिक दाबी गरिएको कागजपत्रको अध्ययन गरिरहेको आयोगले उनीहरुको कुरा सुन्न छलफलमा बोलाएको हो ।
दुवै पक्षले आफूले नै आधिकारिकता पाउनु पर्ने दाबी गर्दै आएका छन् । नेता खड्काले आफूहरुले आधिकारिकता नपाएर आन्दोलनमा गएर निर्वाचन नै हुन नदिने पत्रकार सम्मेलनमा बताएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनको प्रक्रिया माघ ६ गतेबाट सुरु हुँदैछ ।