काठमाडौै, माघ २ :

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । आयोगको निर्णयसँगै गगनकुमार थापा मूल कांग्रेसको सभापति भएका छन् ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन पक्षलाई वैधानिकता दिएको हो । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । देउवा पक्षको दाबी अस्वीकृत भएको छ । गगनको पक्षले आधिकारिकता भएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरेका छन् ।

निर्णय दिनु अघि आयोगले आज दुबै पक्षसँग छलफल गरेको थियो । यसअघि दुई पक्षले आ-आफ्नो दाबीसहितको विवरण बिहीबार आयोगमा बुझाएका थिए। आफूलाई संस्थापन पक्ष दाबी गरेको देउवा पक्षले निर्णय आफ्नो पक्षमा नआए निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ। पुस २७देखि ३० सम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो ।