
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभर उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको जनाएको छ ।
आयोगले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उम्मेदवारहरुको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धीत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।
देशैभर प्रत्यक्षतर्फ करिब तीन हजारको संख्यामा उम्मेदवारी दर्ता भएको छ भने पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवारको संख्या निकै न्यून रहेको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार सबै भन्दा बढी उम्मेदवारी रुपन्देही र सबै भन्दा कम उम्मेदवारी मुस्ताङमा परेको छ ।
पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उत्साहढंगले उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको र आगामी निर्वाचनमा पनि उत्साहपूर्ण सहभागिता हुने बताए । निर्वाचनका लागि मतदानस्थलका लागि आवश्यक जनशक्तिको व्यवस्था भइसकेको उनको भनाइ छ ।
उनले शान्ति सुरक्षाका बिषयमा सरकारलाई सवै सुरक्षा निकायको परिचालनका लागि आग्रह गरिसकेको उल्लेख गरे । आम निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका स्थानीय र प्रदेश तहमा आयोगले उपनिर्वाचन गर्ने उनको भनाइ छ । निर्वाचन कार्यक्रम अन्तर्गत माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
त्यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।