
काठमाडौं, माघ १२ :
आसन्न निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ। निर्वाचन अवधिसम्म मात्र सञ्चालन हुने सोही खाताबाट मात्र चुनावी खर्च गर्नुपर्नेछ। निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।
आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी खाता खोल्नुपर्ने छ । राजनीतिक दल र उम्मेदवारले क, ख र ग वर्गका वित्तीय संस्थामा खाता खोल्नुपर्ने निर्देशनमा उल्लेख छ । निर्वाचन खर्च पारदर्शिताका लागि आयोगले छुट्टै खाता खोल्नु पर्ने व्यवस्था गरेको हो । प्रत्येक उम्मेदवारको छुट्टै खाता भयो भने कसले कति खर्च गर्यो भन्ने स्पष्ट हुनेछ ।