काठमाडौं, फागुन ३ :

लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’का उम्मेदवारहरुले राज्य र दलहरुले वेवास्था गरेकै कारण आफूहरु छुट्टै दल खोलेर निर्वाचनमा होमिन बाध्य भएको बताएका छन् ।

काठमाडौं आइतबार सञ्चारकर्मीहरुसँगको अन्तर्क्रियामा उनीहरुले लामो समयदेखि आफूहरु दलहरुको आश्वासन र प्रतिबद्धताको भरमा बाच्नु परेको भन्दै आफ्ना लागि आफैं अघि सर्नुपर्छ भन्ने मान्यताका साथ चुनावमा होमिएको स्पष्ट पारे । समाजमा यो समुदायका व्यक्तिहरु धेरै नै भए पनि परिवार, समाज र परम्पराको  कारणले खुल्न नसकेको भन्दै आगामी निर्वाचनमा मतमार्फत पार्टी र संगठनलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

पुराना राजनीतिक दलहरुले लामो समयदेखि आफूहरुलाई भोट बैंकको रुपमा प्रयोग गर्दै आएको उनीहरुको आरोप छ । आफूहरुको हक र अधिकार स्थापित गर्न नसकेको उम्मेदवारहरुले भने, ‘अब हाम्रो माग र मुद्दाहरु आफैं उठाउँछौं ।’ उनीहरुले केवल माग राख्ने मात्र नभइ, अब नीति निर्माण गर्ने आफैं पुग्ने बताए ।

यसै वर्ष निर्वाचन आयोगमा दल दर्ता गरेको यो पार्टीबाट प्रत्यक्षतर्फ ६ जनाले उम्मेदवारी दिएका छन् भने १५ जना समानुपातिकको उम्मेदवार बनेका छन् । अध्यक्ष समेत रहेकी नुमा लिम्बू चञ्चलाले मोरङ निर्वाचन क्षेत्र नं ४, सुरेन्द्र पाण्डेले काठमाडौं क्षेत्र नं १, पिङ्की राईले ‌ओखलढुङ्गा क्षेत्र नं १ , देवेन्द्र बहादुर खत्रीले रुपन्देही क्षेत्र नं २, पूर्णचन्द्र पौडेलले काठमाडौं क्षेत्र नं १० र विनोद लामाले काभ्रे क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

कार्यक्रममा ओखलढुङगा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएकी पिङ्की राईले पुराना तथा नयाँ दलहरुले नसमेटेको कारण आफूहरु छुटै दल खोलेर आघि सर्न बाध्य भएको बताइन् । धेरै पटक चुनाव भए संविधन बने तर यो समुदायलाई समेटिएन उनको दुखेसो थियो । ‘अहिलेसम्म हामीले राज्यलाई कि मार कि फाल पनि भनेका छौनौं आफ्नै विवेक,शक्ति र सीपले अगाडि बढिरहेका छौं, राईले भने,‘अहिले सिंगो राज्य, समाज र सबैको लागि काम गर्ने अठोट लिएका छौं ।’

यस्तै काठमाडौं क्षेत्र नं १ मा प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका सुरेन्द्र पाण्डेले दलहरुबाट प्रतिबद्धता र आश्वासन बाहेक केही नपाएपछि यौनिक अल्पसंख्यक समुदायको आवाज बोकेर चुनावी मैदानमा होमिएको बताए ।  आफूले चुनाव जितेको खण्डमा यो समुदायको हक हितका लागि नीति तथा र कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै समानुपातिक तर्फका उम्मेदवार प्रतिक्षा चापागाईंले यौनिक अल्पसंख्यक समुदायका लागि कानुनमा कुनै पनि व्यवस्था नभएको बताइन् । भएका कानुनहरु पनि फितलो रहेको भन्दै उनले त्यसलाई संशोधन र लागू गर्न पनि आफूहरु संसदमा पुग्नै पर्ने बताइन् । शिक्षा,स्वास्थ्य र रोजगारी सुनिश्चित भएको खण्डमा आफूहरु पनि अरु जस्तै अघि बढ्न सक्ने बताइन् । राज्यले आफ्नो दायित्व नलिएको उनको दुखेसो थियो ।

त्यसो त यो समुदायका केही व्यक्तिहरुलाई अन्य दलहरुले पनि समानुपातिक उम्मेदवार बनाए पनि दलहरुले प्रतिशत नै तोकेर जुन संख्यामा उम्मेदवार बनाउनुपर्ने थियो त्यो भने नभएको पहिलो संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालको कार्यकारी निर्देशक सुनीलबाबु पन्तले बताए ।

उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, आरक्षण, विवाह, पैतृक सम्पत्ति, पहिचान, सुरक्षाको अधिकार लगायतका हाम्रा मुद्दाहरु अरू सांसदहरूले कहिलेकाहीँ उठाए पनि, हामी आफैं संसदमा नपुगेसम्म ती मुद्दा अधुरा नै रहनेछन्। किनकि हामीबिना हाम्रो कथा पूरा हुँदैन।’

धेरै समलिंगी, तेस्रोलिंगी तथा अन्तरलिंगीहरू अझै खुल्न नसकेको भन्दै पन्तले गोप्य हुने मतमार्फत आफ्नो समुदायको पक्षमा इतिहास बनाउन सहयोग पुग्न उनको विश्वास छ। उनले यो निर्वाचनलाई केवल चुनाव मात्र नभई पहिचानको जनगणना पनि भनेका छन् ।  राजनीतिक शक्तिका रूपमा स्थापित भयौं भने विभेद हटाउन , कानुन संशोधन गर्न , आर्थिक अवसरहरू सिर्जना गर्न ,गर्न सकिने उनको भनाइ छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई संविधानले केही अघिकारहरु दिएको भए पनि कानुनी अभावकै कारण कार्यान्वन नभइरहेको उनीहरुले बताए ।  नेपालको इतिहासमै पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको नेतृत्वमा संगठित रुपमा राजनीतिक दल खोलेर चुनावमा होमिएको हो । ‘श्रीवत्स’(अनन्त गाँठो) चुनाव चिह्न रहेको यो दलले आफूलाई निर्णायक तहमा उभ्याउने लक्ष्य लिएको छ।