काठमाडौं, फागुन ३ :

गोकर्णेश्वर नगरपालिकामा भएको खुल्ला प्रथम भलिबल ‘मेयर कप’ प्रतियोगिताको उपाधि लट्टेश्वरी कन्स्ट्रक्सन प्रा.लि.ले जितेको छ। वडा नं. ९, आरुबारीस्थित पानीखोल्चामा आज(आइतबार) सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टिम ग्राम निर्माण बन्धु मण्डल क्लवलाई पराजित गर्दै लट्टेश्वरी कन्स्ट्रक्सन प्रा.लि.ले उपाधि हात पारेको हो।

प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा लट्टेश्वरी कन्स्ट्रक्सन प्रा.लि.ले खेलमा पकड जमाउँदै विजयी हुन सफल भयो। प्रतियोगितामा ग्राम निर्माण बन्धु मण्डल क्लव दोस्रो स्थानमा सीमित रहँदा किर्तिपुर भलिबल ट्रेनिङ सेन्टर तेस्रो स्थान हासिल गर्न सफल भयो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः नगद रु ५० हजार, रु ३० हजार र रु १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा ग्राम निर्माण बन्धु मण्डल क्लवको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १३ टोलीको सहभागिता रहेको थियो।

विजयी टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथि तथा नगरप्रमुख दीपक रिसालले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। साथै उनले स्थानीय  भलिबलका पुराना खेलाडीहरुलाई पनि सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा बोल्दै मेयर रिसालले भलिबल खेलमार्फत पहिचान बनाएको ग्राम निर्माण बन्धु मण्डल क्लवले पुनः प्रतियोगिता आयोजना गरी खेलकुद विकासमा टेवा पुर्‍याएकोमा धन्यवाद व्यक्त गरे। आफू पनि विगतमा भलिबल खेलाडी रहेको उल्लेख गर्दै उनले युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिका सधैं सहयोगी रहने प्रतिबद्धता जनाए।

त्यसैगरी वडा नं. ९ का वडाध्यक्ष राजीव थापा ले तीन दशकअघि भलिबल खेलबाट परिचित आरुबारी क्षेत्रलाई यस प्रतियोगिताले पुनः स्मरण गराएको बताए।

क्लवका अध्यक्ष किरण पण्डित क्षेत्रीले आगामी दिनमा पनि यस्तै प्रकारका खेलकुद प्रतियोगिता निरन्तर सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार क्लवकै अगुवाइमा समय-समयमा कवि गोष्ठी तथा वक्तृत्वकला प्रतियोगितासमेत आयोजना हुँदै आएको छ।

स्थानीय स्तरमा खेलकुद गतिविधिलाई सक्रिय बनाउँदै युवा पुस्तालाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।