बुटवल, फागुन ४ :

जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट  रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा पनि गरेका हुन् । यादव जसपा नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेलाई रोजेको उनले सोमबार विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

यादवले आफ्ना समर्थक र  मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन् । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् ।