
दाङ, फागुन ८ :
दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएका छन् ।
गएराती पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन् । झण्डा जलाएको भिडिओ समेत बाहिरिएको छ । उनीहरूले ‘केपी, देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको भिडिओमा देखिन्छ । सुर्खेतको कार्यक्रम सकेर राति लामिछाने तुलसीपुर हुँदै घोराही पुगेका छन् ।
यता एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन् ।
उनले लेखेकी छन् ‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्’ उनले लेखेकी छन् ।
तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।