काठमाडौं, फागुन ८ :

कान्तिपुर एकेडेमीमा शुक्रबार विद्यार्थीहरूले ‘साइन्स एक्जिबिसन’ गरेका छन्। थलीस्थित एकेडेमीको प्राङ्गणमा भएको प्रदर्शनीमा विद्यार्थीहरूले वैज्ञानिक सोच र व्यवहारिक सीप उजागर गर्ने विभिन्न आविष्कारहरू प्रस्तुत गरे ।

पठनपाठनसँगै सीप विकासलाई टेवा पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको एकेडेमीले जनाएको छ। प्रदर्शनीमा ‘स्मार्ट सिटी’ मोडेल, फोल्डिङ पुल, ब्याट्रीबाट चल्ने गाडी, गमलामा पानी हाल्ने रोबोट लगायतका परियोजना प्रमुख आकर्षणका रूपमा देखिएका थिए। साथै, पुराना सिक्काको सङ्कलन (कलेक्सन) समेत अवलोकनकर्ताको ध्यान तानेको थियो। कार्यक्रममा ६८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले गरेका थिए। सो अवसरमा बोल्दै उनले कान्तिपुर कलेजले फरक ढंगले आफ्ना शैक्षिक गतिविधि अघि बढाएकोप्रति खुशी व्यक्त गरे। वर्तमान विश्वमा सूचना प्रविधि (आईटी) को महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले युवाहरूलाई आईटी क्षेत्रमा लागेर व्यक्तित्व विकासका साथै समाजमा योगदान दिन आग्रह गरे।

कार्कीले यस क्षेत्रका विद्यार्थीहरूका लागि कान्तिपुर कलेज वरदान सावित भएको बताए। क्याम्पसमा आईटीसँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिइने जानकारी दिँदै उनले मनोहरालाई ‘स्पोर्ट सिटी’ का रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको उल्लेख गरे। सो उद्देश्यका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरिसकेको पनि उनले बताए।

यस क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीहरू नेपाल सरकारका उच्च पदमा पुगेको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताए। “यहाँका युवा विद्यार्थीहरूको भविष्य निर्माण गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको हो। आवश्यक परे दुई करोड मात्र होइन, जति पनि लगानी गर्न नगरपालिका तयार छ,” उनले भने।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले पाठ्यपुस्तक र पाठ्यक्रमसँगै जीवनोपयोगी शिक्षा आवश्यक रहेको बताए। विगतको शिक्षा प्रणालीभन्दा वर्तमान अवस्था फरक रहेको उल्लेख गर्दै उनले सुधार हुँदै गएको बताए। तीन तहका सरकारमध्ये स्थानीय तह सबैभन्दा जिम्मेवार भएकाले शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि काम गरिरहेको उनको भनाइ थियो।

यसैगरी, काठमाडौं क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार कबिर शर्माले गुणस्तरीय शिक्षा वर्तमान समयको आवश्यकता भएको बताउँदै शिक्षालाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा क्याम्पसका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय शिक्षाविद्हरूको उल्लेखनीय सहभागिता रहेको थियो।