सुदुरपश्चिम, फागुन ११ :

नेपाली कांग्रेस डडेल्धुराले नेपाली कांग्रेस (बीपी)का नेता कर्ण मल्लसहितका नेताहरूलाई पुरानै घर काँग्रेसमा फर्कन औपचारिक आग्रह गरेको छ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले आइतबार विज्ञप्ति जारी गर्दै डडेल्धुरा जिल्लाका पूर्वसभापति समेत रहेका मल्लसँगै तत्कालीन पूर्व उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपालीलाई नेपाली कांग्रेसमै फर्केर सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको हो।

मल्लसहित सम्पूर्ण नेता तथा क्रियाशील सदस्यलाई पार्टीमा फर्किएर संगठन सुदृढीकरण र निर्वाचन अभियानमा सक्रिय योगदान दिन आह्वान गरिएको छ ।

जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर तथा नेपाली कांग्रेसलाई विजयी गराउन मल्ल सहितका नेताहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ।

कर्ण मल्ल २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। तर, स्थानीय तहको निर्वाचन पूर्वसन्ध्यामा उनले कांग्रेस परित्याग गरी नेपाली कांग्रेस (बीपी) मा आवद्ध भएका थिए।

स्थानीय तहकै निर्वाचनमा फरक दलसँग तालमेल गरेको आरोपमा उनलाई पार्टीले कारबाही गरेको थियो।