काठमाडौं, फागुन १३ :

प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउदै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कोही सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय भएको जानकारी दिए । साथै सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले  १६ औं योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने र यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गर्ने निर्णय समेत गरेको प्रवक्ता अर्यालले बताए।

उनले रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्मको लागि निरन्तरता दिने र सो समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अडकाउ फुकाउन आदेश जारी गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद्ले न्याय सेवा आयोगको सिफारिस बमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने र चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरउन्नति हुने कलंकीदेखि बसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने निर्णय समेत गरेको छ भने सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रतिनिधि सभाको आसन निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय भएको छ ।

यस्ता छन् २५ निर्णय :


१.सोह्रौं योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२-२०८५/८६) स्वीकृत गर्ने।

२.नेपाललाई OECD Global Forum on Transparency and Exchange of Information for Tax Purposes को सदस्यता लिन स्वीकृति प्रदान गर्ने।

३.चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रस्तावित चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने ।

४.चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने । 

५.बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने।

६.न्याय सेवा आयोगको सिफारिसबमोजिम दुईजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने।

७.विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।

८.निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने । साथै, सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने ।

९.२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा २०८२ फागुन २० देखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने । 

१०.श्री हितमान गुरुङ्गलाई बेलायतका राजाद्वारा प्रदान गरिने Most Excellent Order of the British Empire (BEM) उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने ।

११.नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार गठित यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने । 
१२.२०८२ चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने 21st INTERPOL Annual Heads of NCB Conference मा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति दिने।

१३.२०८२ फागुन १८ र १९ गते भारतमा हुने Raisina Insights Forum 2026(RIF-2026 ) विषयक कार्यक्रममा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक श्री ओम प्रकाश जोशीलाई सहभागी हुन स्वीकृति दिने ।

१४. नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारेक रहमानको शपथ समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको भ्रमण समर्थन गर्ने ।

१५भौतिक पूर्वाधार चीन सरकारको अनुदान सहयोगमा निर्माण / स्तरोन्नति हुने कलङ्कीदेखि | बसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लिखित विषयहरूमा कर छुट दिने ।

१६.नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई संवत् २०८३ साल असार मसान्तसम्मको लागि निरन्तरता दिने र सो समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने। 

१७.न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थिति सम्बन्धी आयोग (csw) को ७०औं सम्मेलनमा २०८२ फागुन २५ देखि चैत ५ गतेसम्म सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।

१८. २०८२ फागुन १ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधि सभाको आसन्न निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने । 

१९. नेपाली सेनाका दुईजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र दुईजना महासेनानीको सरूवा गर्ने।

२०. वन तथा वातावरण केरावारी-न्यू मर्स्याङ्दी (दरौदी करिडोर) १३२ के.भी. विद्युत प्रसारणलाइन आयोजना निर्माणको लागि राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख/पोल हटाउन स्वीकृति दिने ।

२१. माथिल्लो जुनवेशीखोला जलविद्युत आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख/पोल हटाउन स्वीकृति दिने ।

२२.सेती खोला जलविद्युत आयोजनाको १३२ के.भि. विद्युत प्रसारणलाइन आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रूख/पोल हटाउन स्वीकृति दिने

२३.जेनजी परिषद् गठन गर्ने । 

२४.नेपाल सरकारका सचिवहरू डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उहाँहरूले हालसम्म पुयाउनु भएको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने। 

 २५.नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका छजना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने।