काठमाडौं, फागुन १६ :

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूला सैन्य कारबाही सुरु भएको पुष्टि गर्दै शासन परिवर्तनको आह्वान गरेका छन्।

इरानका सर्वोच्च नेताको कार्यालय तथा तेहरानस्थित राष्ट्रपतिको कार्यालयसहित देशभरका विभिन्न सैन्य स्थलहरू निशानामा परेको बताइएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार एक बालिका विद्यालयमा भएको आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ।

इरानले त्यसको प्रतिकारस्वरूप इजरायलमाथि आक्रमण सुरु गरेको इजरायली सेनाले जनाएको छ। इरानी आक्रमणका कारण भएको ठानिएको क्षति कतार र कुवेतलगायत क्षेत्रहरूमा पनि देखिएको छ भने दुबईको द पाम नजिक धुवाँ देखिएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले इरानी जनतालाई सरकार आफ्नो नियन्त्रणमा लिन आग्रह गर्दै भनेका छन्, यो सम्भवत पुस्तौँसम्मको तपाईंहरूको एकमात्र अवसर हुन सक्छ।

सामान्य इरानी नागरिकहरूबीच मिश्रित प्रतिक्रिया देखिएको छ । सडकमा त्रास र भागदौड छ भने केहीमा राहतको अनुभूति पनि देखिएको छ।

अमेरिका र इजरायलले इरानी शासन कमजोर अवस्थामा रहेको ठानेका छन् र यसलाई गुमाउन नहुने अवसरका रूपमा हेरेका छन्।

यसैबीच बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले मध्यपूर्वमा हाम्रा जनता, हाम्रो हित र हाम्रो सहयोगीहरूको सुरक्षा गर्न समन्वित क्षेत्रीय रक्षात्मक अभियानअन्तर्गत बेलायती विमानहरू आज आकाशमा परिचालन गरिएको बताएका छन्।

इरानका विदेशमन्त्रीले भनेका छन्, “मेरो जानकारीअनुसार सर्वोच्च नेता जीवित हुनुहुन्छ।”

इरानका विदेशमन्त्रीअब्बास अराघचीले इन्टरनेट अधिकांश क्षेत्रमा बन्द रहेको अवस्थामै एनबीसी न्यसजमा प्रत्यक्ष प्रसारणमा देखिएका छन्।

अराघचीले इरानले एक वा दुई जना कमान्डर गुमाएको हुन सक्छ भनेका छन्। साथै, इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी  जिउँदै हुनुहुन्छ  भन्ने जानकारी आफूलाई रहेको पनि बताएका छन्।

इरानी सञ्चार माध्यमहरूले हालसम्म राष्ट्रपति तथा सेनाका सर्वोच्च कमान्डरसहित विभिन्न इरानी अधिकारी र कमान्डरहरूको मृत्यु भएको भन्ने दाबी अस्वीकार गरेका छन्।

अराघचीका अनुसार इरान तनाव घटाउने पक्षमा छ र वार्ताका लागि खुला छ, तर त्यसका लागि अमेरिका र इजरायलले आफ्ना आक्रमणहरू रोक्नुपर्ने शर्त राखिएको छ।

हाल अहिले कुनै सञ्चार सम्पर्क नभएको बताउँदै उनले भने, यदि अमेरिकाले हामीसँग कुरा गर्न चाहन्छ भने, उनीहरूलाई मलाई कसरी सम्पर्क गर्ने भन्ने थाहा छ।

इरान र अमेरिका पुनः सुरु भएको आणविक वार्तामा संलग्न रहेका छन्, जसको पछिल्लो चरण दुई दिनअघि सम्पन्न भएको थियो।

अराघचीले क्षेत्रभित्र रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानले आक्रमण गरिरहेको पुष्टि गर्दै यसलाई आत्मरक्षाको कदमका रूपमा व्याख्या गरेका छन्।