काठमाडौं, फागुन १६ :

विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलले मध्यपूर्वमा उत्पन्न भएको तनावपूर्ण स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।

कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालमा भनेका छन्, “मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ । रोजगारीलगायत सिलसिलामा विभिन्न देशमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुरक्षा संवेदनशील बनेको छ । यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा अनुरोध गर्दछु । सुरक्षा नियमहरूको पूर्णपालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा रहनुहोला ।”

उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । उनले भनेका छन्, “युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।”

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण र त्यसपछिको घटनाक्रमबाट नेपालीलाई हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित राख्न उच्च पहलकदमी लिन सरकारसँग अनुरोध गरेका छन् । उनले त्यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता भएको उल्लेख गरेका छन् ।