काठमाडौं, फागुन १७ :

हाल अमेरिकामा रहेका लोकनाथ अधिकारीले शेरबहादुर देउवालाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिक गरेका छन्। पत्रमा उनले देउवाको राजनीतिक योगदानको प्रशंसा गर्दै वर्तमान अवस्थामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

अधिकारीले आफ्नो पत्रमा देउवाको राजनीतिक यात्रालाई नेपाली लोकतान्त्रिक आन्दोलनको जीवित इतिहासका रूपमा चित्रण गरेका छन्। विद्यार्थी जीवनदेखि सुरु भएको संघर्ष, जेल जीवन, आन्दोलन र विभिन्न राजनीतिक उतार–चढावलाई स्मरण गर्दै उनले देउवालाई केवल नेता नभई संस्था जस्तै व्यक्तित्वका रूपमा व्याख्या गरेका छन्।

उनले नेपाली कांग्रेसको नेतृत्वमा देउवाले खेलेको भूमिकालाई विश्वासको निरन्तरताका रूपमा उल्लेख गरेका छन्। पटक–पटक सांसद, गृहमन्त्री तथा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु व्यक्तिगत उपलब्धि मात्र नभई पार्टी र जनताको भरोसाको परिणाम भएको उनको भनाइ छ।

तर वर्तमान परिस्थितिप्रति संकेत गर्दै अधिकारीले पार्टीमा पुस्तान्तरणको चरण चलिरहेको उल्लेख गरेका छन्। नयाँ नेतृत्व उदाउँदै गर्दा अनुभवी नेताहरू केही निष्क्रिय देखिएको भन्दै उनले यसबारे कार्यकर्तामाझ जिज्ञासा रहेको बताएका छन्। उनले देउवाको मौनता रणनीति हो कि समयको प्रभाव भन्ने प्रश्न पनि उठाएका छन्।

पत्रमा उनले संकटका बेला अगाडि उभिने, विभाजनका बेला जोड्ने र निराशाका बेला धैर्य दिने नेताका रूपमा देउवाको पहिचान स्मरण गराएका छन्। पार्टी निर्णायक मोडमा रहेका बेला उनको सक्रिय उपस्थिति आवश्यक रहेको अधिकारीको धारणा छ।

उनले गगन थापा जस्ता नयाँ पुस्ताका नेताहरू देउवाकै राजनीतिक यात्राको निरन्तरता भएको उल्लेख गर्दै खुलेर साथ, मार्गदर्शन र संरक्षण आवश्यक रहेको बताएका छन्। यसले पार्टी पुस्ता परिवर्तनसँगै अझ बलियो बनेको सन्देश दिने उनको विश्वास छ।

देश जटिल राजनीतिक अवस्थामा रहेको र लोकतान्त्रिक मूल्यमाथि चुनौती देखिएको उल्लेख गर्दै अधिकारीले कांग्रेस कमजोर देखिनु लोकतान्त्रिक मूल्यका लागि राम्रो संकेत नहुने बताएका छन्। हजारौं कार्यकर्ताले अझै देउवाको सक्रिय भूमिका र स्पष्ट समर्थनको अपेक्षा गरिरहेको उनले जनाएका छन्।

पत्रको अन्त्यमा उनले देउवाले पाउन बाँकी केही नभए पनि दिन बाँकी धेरै रहेको उल्लेख गर्दै अनुभव, सन्तुलन र सहमतिका आधारमा पार्टीलाई मार्गदर्शन गर्न आग्रह गरेका छन्। सक्रिय साथ र सहज पुस्तान्तरणमार्फत देउवाले आफ्नो राजनीतिक जीवनको अर्को सुन्दर अध्याय थप्न सक्ने अधिकारीको भनाइ छ।


आदरणीय नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाज्यू,

सादर प्रणाम ।

यो पत्र लेख्दा मन अत्यन्तै सम्मान, कृतज्ञता र अलिकति चिन्ताले भरिएको छ । तपाईंको राजनीतिक यात्रा केवल व्यक्तिगत उन्नतिको कथा होइन, नेपाली कांग्रेसको संघर्ष, उतार–चढाव र लोकतान्त्रिक आन्दोलनको जीवित इतिहास पनि हो । विद्यार्थी जीवनदेखि शुरू भएको तपाईँको संघर्ष, जेल–नेल, आन्दोलन, चोटपटक, परिवारसहितको पीडा—यी सबै घटनाहरूले तपाईंलाई केवल नेता मात्र होइन, संस्थाजस्तै व्यक्तित्व बनाएको छ ।

पार्टीका विभिन्न तह हुँदै सभापति बन्नु, पटक–पटक सांसद, गृहमन्त्री र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु यो पदको निरन्तरता मात्र नभएर विश्वासको निरन्तरता हो । बहुमतको निर्णय स्वीकार गर्ने संस्कार, संस्थागत प्रक्रियामा आस्था र संकटका बेला पार्टीलाई समेट्ने धैर्य जस्ता गुणहरूले तपाईंलाई परिपक्व लोकतान्त्रिक नेताका रूपमा स्थापित गरेका छन् ।

तर, आजको वर्तमान भने यसबाट केही फरक देखिन्छ । पार्टी नयाँ पुस्ताको नेतृत्वमा प्रवेश गरिरहेको छ । पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, तर अनुभव र ऊर्जा सँगै नहिँडे त्यो संक्रमण अधुरो रहन्छ । अहिले कार्यकर्ताको मनमा एउटा मिहिन प्रश्न उठिरहेको छ— पुराना, अनुभवी, संघर्षका साक्षी नेताहरू किन अलि निष्क्रियजस्तो देखिनुहुन्छ ? के यो मौनता रणनीति हो या समयले थकान ल्याएको संकेत ?

हामीले बुझेका देउवाज्यू भनेको संकटमा अगाडि उभिने नेता हो । पार्टी कमजोर देखिँदा समेट्ने, विभाजन हुँदा जोड्ने, निराशा छाउँदा धैर्य दिने व्यक्तित्व हो । त्यसैले आज जब पार्टी पुन: एक निर्णायक मोडमा छ, तपाईंको सक्रिय उपस्थिति झन् आवश्यक भएको छ ।

गगन थापा जस्ता नेताहरू तपाईंको राजनीतिक यात्राकै निरन्तरता हुन् । तपाईंले अवसर दिनुभएको पुस्ता आज नेतृत्वमा पुगेको छ भने त्यो तपाईँको योगदानकै परिणाम हो । यस्तो अवस्थामा तपाईंको खुलेर साथ, मार्गदर्शन र संरक्षणले पार्टीलाई सन्देश दिन्छ—कांग्रेस केवल पुस्ता बदलिएको होइन, अझ बलियो भएको छ ।

विगतले तपाईंलाई इतिहासमा स्थान दिएको छ । वर्तमानले तपाईंलाई जिम्मेवारी सम्झाइरहेको छ । भविष्यले तपाईंलाई एकता र हस्तान्तरणको उदाहरण बन्न आह्वान गरिरहेको छ ।

देश जटिल परिस्थितिमा छ । लोकतन्त्रप्रति चुनौतीहरू छन् । यस्तो बेला कांग्रेस कमजोर देखिनु भनेको लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठ्नु हो । हामी जस्ता हजारौं कार्यकर्ता अझै तपाईंको सक्रियता, तपाईंको आवाज, तपाईंको स्पष्ट समर्थनको प्रतीक्षा गरिरहेका छौं ।

हामीलाई थाहा छ तपाईंले पाउन बाँकी केही छैन । तर दिन बाँकी अझै धेरै छ । अनुभव, सन्तुलन, सहमतिको कला र संस्थागत मर्यादाको शिक्षा—यी सबै अझै पार्टीलाई आवश्यक छन् ।

आदरणीय नेता, यो समय इतिहास लेख्ने अर्को अवसर पनि हुन सक्छ । सक्रिय साथ दिएर, पुस्तान्तरणलाई सहज बनाउँदै, पार्टीलाई जिताउने अभियानमा अग्रसर भएर तपाईंले आफ्नो राजनीतिक जीवनको सबैभन्दा सुन्दर अध्याय थप्न सक्नुहुन्छ ।
लोकनाथ अधिकारी हाल अमेरिका