
नेपाली कांग्रेसका सभापति गगन थापाले उत्तेजना र घृणाको राजनीतिले देशलाई अघि बढाउन नसक्ने बताएका छन्। आइतबार कीर्तिपुरको सभालाई सम्बोधन गर्दै थापाले ५ वर्ष कांग्रेसले सुझबुझका साथ मुलुक चलाउने र सूचना प्रविधिलाई महत्वपूर्ण उद्योग बनाउने प्रतिज्ञा दोहोर्याए।
चुनाव जित्न कार्यकर्तालाई मतदातासम्म पुग्न आग्रह गर्दै उनले काठमाडौं-१० लाई पहिलो प्राथमिकतामा राखिएको बताए। उनले भने, ‘उत्तेजना र घृणाको राजनीतिले कहिँ पुगिँदैन् , कांग्रेसले ५ वर्षको समय खेर फाल्दैनौं ।’
कांग्रेसले आगामी दिनमा युवाहरू गोलीबाट मर्न नदिने, मुकुण्डो लगाएर सिंहदरबार जलाउन नपाउने अवस्था चाहेको उनले बताए । कीर्तिपुरको डाँडामा बसेर आएटीको काम गरेर २ लाख कमाउन सक्ने आफूले भनेपछि त्यो यथार्थमा बदलिँदै गएको थापाको भनाइ थियो।
कांग्रेस नेतृत्वको सरकार बनेपछि उच्चस्तरिय आयोग बनाएर २०४६ साल यता पार्टीबाट पटकपटक मन्त्री बनेकाहरुको सम्पत्ति छानबिन सुरु गर्ने बताए । उनले पूर्वसभापति शेरबहादुर देउवालाई छानबिनको सुचीमा पहिलो र आफूलाई दोस्रो नम्बरमा राखेका छन् ।