काठमाडौ, फागुन २५ :

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहले दिएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी आज तोकिएको छ ।

साहले दिएको रिट न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा सुनुवाइ हुँदैछ ।

साहले आफ्नो उम्मेदवार कायम रहनुपर्ने माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दिए छन् ।

ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालो सूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।  
यो निर्वाचन क्षेत्रमा मतगणना सम्पन्न भइसकेको छ । तर अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेको छैन ।