
नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचनमा जनताले पार्टीको नीति र नेतृत्व दुवैलाई अस्वीकार गरेको उल्लेख गर्दै नेतृत्वले यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले पार्टीको यो अवस्था आउनुमा प्रमुख नेताकै जवाफदेहिता रहने स्पष्ट पारेका छन्। उनले घुमाउरो शैलीमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग गर्दै नेतृत्वले ‘जस–अपजसको भारी’ बोक्नुपर्ने उल्लेख गरेका हुन्।
भट्टराईले भदौ २३ र २४ पछि पार्टीले लिएका नीतिहरू गलत भएको र त्यसलाई सच्याउन पटक–पटक गरिएको आग्रह नेतृत्वले नसुनेको गुनासो समेत गरेका छन्। ‘हामी ढलेका हौँ, मरेका होइनौँ’ भट्टराईले लेखेका छन् ।
उनले कार्यकर्ताहरूलाई 'आत्मभर्त्सना होइन, आत्मसमीक्षा'को बाटोमा हिँड्न अपिल गर्दै हिजोका गुट र घेराबाट बाहिर निस्किएर खुला बहसमा सहभागी हुन आह्वान गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा ब्यहोरेको नमिठो पराजयपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र नीतिगत पुनरावलोकनको बहस सुरू भएको छ।