कास्की, फागुन २७ :

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद् महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगरी व्यवस्थित माध्यमबाट बिक्री–वितरण गर्न आग्रह गरेका छन्।

मेयर आचार्यले सार्वजनिक ध्यानाकर्षण जारी गर्दै कुनै पनि वस्तु बिना दर्ता वा आवश्यक अनुमति बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने बताएका छन्। पछिल्ला दिनहरूमा सडक किनारमा उभिएर पुस्तक बिक्री गर्दा यातायात व्यवस्थापनमा असहजता भएको र अनावश्यक सवाल–जवाफसमेत उठेको उनको भनाइ छ। यस्तो अवस्था पुनजस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने नभएको उनले उल्लेख गरेका छन्।

मेयर आचार्यले पुनले देशभर घुमेर पुस्तक बिक्री गर्दै अनुसन्धान तथा नवप्रवर्तनका लागि जनसमर्थन जुटाउने अभियान प्रशंसनीय रहेको बताएका छन्। देश र समाजप्रतिको पुनको समर्पण, सादगी र पवित्र उद्देश्यप्रति सबैको उच्च सम्मान रहेको पनि उनले बताएका छन्।

पुस्तक व्यवसायीमार्फत उपयुक्त स्थान उपलब्ध गराएर पुस्तक बिक्री–वितरणमा सहयोग गर्न सकिने प्रस्तावसमेत आचार्यले गरेका छन्। साथै, पुनले पुस्तकको स्टक उपलब्ध गराएमा महासंघमार्फत बिक्री गरी उचित भुक्तानी उपलब्ध गराउन सकिने पनि उनले उल्लेख गरेका छन्।

कास्कीस्थित पोखरा महानगरपालिकाका मेयर आचार्यले पुनलाई सांसदको जिम्मेवारीसमेत स्मरण गराएका छन्। उनका अनुसार सांसदको मुख्य भूमिका पुस्तक बिक्री गर्नु नभई देशका लागि नीति तथा कानुन निर्माण गर्नु हो।

म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पुन गत सोमबार पोखराको सडक किनारमा उभिएर पुस्तक बिक्री गरिरहेका बेला विवाद भएको थियो। सोही विषयलाई लिएर मेयर आचार्यले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन्, “माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो।”