
काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रको बेसमेन्टमा नि:शुल्क पार्किङ सञ्चालनमा ल्याएको छ। मन्त्रिपरिषद्को २०८२ फागुन ९ गतेको निर्णयअनुसार पार्किङ व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिइएपछि फागुन १० गतेदेखि सेवा सुरु गरिएको हो।
महानगर प्रहरी बलले पार्किङ व्यवस्थापन सम्हालेको छ। प्रारम्भिक अवस्थामा पूर्वाधार अपुग रहेकाले सुधार गरी सञ्चालनमा ल्याइएको महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। हाल तीन तलामा ३० वटा अग्नि सुरक्षा उपकरण र सिसिटिभी क्यामेरा जडान गरिएको छ।
पार्किङ क्षेत्र बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ। बी–१ मा १२७ वटा चारपाङ्ग्रे, बी–२ मा करिब ७०० मोटरसाइकल र बी–३ मा १३५ चारपाङ्ग्रे सवारी पार्किङ गर्न सकिने क्षमता छ। बी–३ मा हावाको प्रवाहमा समस्या देखिएकाले आवश्यक परेको अवस्थामा मात्र प्रयोग गरिन्छ।
विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै पार्किङ सञ्चालन गरिएको हो। ती क्षेत्रमा सडक र फुटपाथमा सवारी पार्किङ पूर्ण रूपमा निषेध गरिएको महानगरले जनाएको छ।
हाल पार्किङ सेवा निःशुल्क राखिएको छ। पार्किङ क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी भित्र्याउन पाइनेछ भने त्यसपछि बाहिर निकाल्न मात्र अनुमति हुनेछ। महानगर प्रहरीले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निगरानी गर्ने व्यवस्था गरिएको छ।