काठमाडौं, चैत ८ :

शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको छ। आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा समूहका केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूबीचको परामर्श बैठकले केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको हो। नेता मीन विश्वकर्माकाअनुसार बैठक बोलाउने जिम्मेवारी देउवा पक्षका समूहका कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ।

चुनावी समीक्षा र पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको हो। देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने देखिए छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ कार्यसमिति चयन भएको अवस्था छ। आयोगले थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह भने त्यसलाई अस्वीकार गर्दै अदालत गएको छ। आधिकारिकताका लागि दुवै समूहले अदालतको निर्णय कुरेर बसेका छन् । थापा नेतृत्वको कांग्रेसले चुनावी समीक्षा गर्न थालेपछि देउवा समूह पनि जुर्मुराएको हो ।