धुलिखेल, असोज १९ :

काभ्रेको नमोबुद्ध नगरपालिका- ५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताउनुभयो । 

दसैँ पर्व नजिकिँदै गर्दा घरमा खानलाउन समेत समस्या रहेका नागरिकका लागि तत्काल बाटो खुलाएमा सहजता हुने उहाँको अपेक्षा थियो ।

रोशी गाउँपालिका- ७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले राज्यले त्यसमा पहिला ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो । 

बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहत लगायतका समस्यामा रहेको उहाँले सुनाउनुभयो । रोशी गाउँपालिका- ७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताउनुभयो ।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढी पहिराले गाउँबस्तीदेखि सडक, पुल र विद्युत्को पोल ढालेपछि अहिले यातायात, विद्युत् र सञ्चार सेवा टुटेको छ ।

विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन् । सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दैछन् ।

बाढीपहिरोको कारण नागरिकको जीवन कष्टकर बन्दै गएको छ । त्यस्तै कष्टकर जीवन जिउन बाध्य हुनेमा रोशीखोला आसपासका धेरै नागरिक छन् । 

यहाँका पसलमा उपलब्ध चाउचाउ र बिस्कुट पनि किन्न सक्ने अवस्था छैन । त्यसो त पसलेले नयाँ सामान ढुवानी गरेर बेच्न सक्ने अवस्था पनि छैन । रोशीमा गएको बाढीपहिरोले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारी साधन अहिले ठप्प छ ।

राजमार्गका दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पुर्याएको छ भने अधिकांश ठाउँमा पुरिएको अवस्था छ ।

बिपी राजमार्ग अहिले सुनसान छ । राजमार्गमात्र सुनसान छैन, त्यस आसपासका बस्तीमा समेत सुनसान छाएको छ । बाढीपहिरोले सडक, विद्युत्को पोल, खानेपानी पाइप लगायत भौतिक संरचना ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्योपचारमा समस्या परेको छ।

त्यस्तै बाढीले रोशी खोला आसपासमा रहेका सयौँ रोपनी खेतीयोग्य जमिनसँगै लगाएको बालीसमेत बगाएको छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकाले समुदाय र पालिकाबीचको सम्बन्ध नै टुटेको अवस्था रहेको बताउनुभयो ।

यस्तो अवस्थाकै बीचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै अवरुद्ध बाटो खुलाउनेदेखि राहत तथा स्वास्थ्योपचारमा केन्द्रित भएर काम गरिरहेको उहाँले बताउनुभयो । 

पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडि नै खुलाउनेगरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडि बढाएको उहाँले बताउनुभयो । 

एकातिर विपद्मा परी नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र बिरामी परेका नागरिकले समयमा नै उपचार नपाएर आक्रान्त बनेका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले सडक खुलाउन निरन्तर आफूहरू स्काभेटरलगायत उपकरणसहित अस्थायी रूपमा वैकल्पिक बाटो बनाउने क्रममा रहेको बताउनुभयो । 

अहिले बिपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडाबाट रोशी गाउँपालिका- १२ को बर्खिखोला सिन्धुलीको सिमानासम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गरी काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पछिल्ला तीन दिनमा मङ्गलटारबाट बुलढुङ्गासम्म चार किलोमिटर बाटो बनिसकेको जनाइएको छ ।