
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताउनुभएको छ ।
फास्ट फुड एशोसिएसन नेपालले आज यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उहाँले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताउनुभयो ।
“देशका विभिन्न स्थानमा एकै पटक बाढीपहिरोबाट मानवीय क्षति भयो, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरूङले भन्नुभयो ।
उहाँले दसैँतिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताउनुभयो ।
नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यन्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्नु स्वाभाविक नहुने तर्क गर्नुभयो । जनताले महसुस गर्नेगरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उहाँको भनाइ थियो ।