भक्तपुर, असोज २० :

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस मध्यपुरथिमि नगर समिति भक्तपुरद्वारा आज  आयोजित कार्यक्रममा उहाँले विपत्तिसँग जुध्ने संस्थागत क्षमता विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्छ भन्नुभयो । 

पटक पटकको विनाशकारी भूकम्प, हालैको बाढीपहिरो र डुबान जस्ता विपद्ले  पाठ सिकाएको जनाउँदै उहाँले प्रकृतिसँग जुधेर होइन मिलेर प्रकृतिको विनाश नगरी विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबैले आलोपालो सरकारमा बस्दै आएकाले दोष दिने भन्दा  निकास निकाल्नेबारे अगाडि बढ्नु पर्ने औँल्याउनुभयो ।  

काँग्रेस जिल्ला अध्यक्ष दुर्लभ थापाले विपद्मा सबैले जुटेर काम गर्न र जनताको सेवामा काँग्रेस अगाडि बढ्न आग्रह गर्नुभयो । 

काँग्रेस मध्यपुर नगर अध्यक्ष सभापति हरिदास प्रजापतिलगायतले मध्यपुर युवा रक्तदाता स्वयंसेवी मध्यपुरथिमिले ‘म सेवा गर्छु’ भन्ने नाराका साथ बिरामीका लागि तत्काल आवश्यक पर्ने रगत उपलब्ध गराउने दुई सय २० भन्दा बढी सदस्य रहेको बताउनुभयो ।

रगत चाहिए रक्तदाता समाजलाई सम्झन पनि उहाँले आह्वान गर्नुभयो ।