काठमाडौँ, ६ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरू एकताबद्ध भएर लोकतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिनुहुँदै अध्यक्ष नेपालले लोकतन्त्रको यो यात्रालाई हामी सबै मिलेर सुदृढ बनाए लैजाने सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले लोकतन्त्रको विकल्प अर्को कुनै तन्त्र वा प्रणाली हुन नसक्ने बताउनुहुदै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र र व्यवहार हो भन्नुभयो । प्रणाली र संस्था बलियो नभएसम्म देश बलियो हुन नसक्नेमा जोड दिनुहुँदै उहाँले गणतन्त्रको लाभ आमनागरिकसमक्ष पुग्ने सहजमार्ग खोज्न, जनतालाई परिवर्तनको अनुभूति गराउन सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले संविधान संशोधनजस्तो दीर्घकालीन महत्वको विषयमा ‘कुन–कुन विषयमा संविधान संशोधन गरिने हो’ त्यसबारे सबै राजनीतिक शक्ति, बुद्धिजीवि, नागरिकसमाज र सरोकार भएकाहरूबीच छलफल गरेर देशको बृहत्तर हितअनुरूप हुनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष नेपालले त्रिशूलीमा बेपत्ता भएका दुई बसका यात्रु लगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सडक पूर्वाधार निर्माण र सडक सुधारका कामलाई राज्यले प्राथमिकतामा राखेर दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन जरुरी रहेको पनि उहाँको भनाइ थियो ।