काठमाडौं, वैशाख १५ :

थापाथाली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीहरूमा तीन दिनसम्म निरन्तर डोजर चल्यो । जसका कारण त्यहाँ आश्रित  करिब चार हजार नागरिक विस्थापित भएका छन्। सरकारी विवरणअनुसार ९३६ घरधुरीका ३,९५५ जनालाई बस्तीबाट उठाइएको छ।  

सरकारले पहिलो चरणमा यी तीन बस्ती हटाएको हो । यसपछि उपत्यकाकाअन्य नदी किनारा तथा सार्वजनिक जग्गा अतिक्रमण गरि बसेकालाई हटाउने योजना अनुरुप त्यसको लगत संकलन गर्ने कार्य गरिरहेको छ ।

शनिबारदेखि सुरु गरिएको भत्काउने अभियानले बस्तीहरू पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन्। विस्थापितमध्ये धेरैजसो आफैं वैकल्पिक बासस्थानको खोजीमा निस्किएका छन् भने केहीलाई मात्र सरकारले अस्थायी रूपमा व्यवस्थापन गरेको छ।

सहरी विकास मन्त्रालयका अनुसार विस्थापितमध्ये ५५५ जनालाई उद्धार गरी विभिन्न स्थानमा राखिएको छ। तीमध्ये १४७ जनालाई कीर्तिपुरस्थित स्वामी सत्संघ भवनमा राखिएको छ भने अन्यलाई बालाजु र माछापोखरी आसपासका होटलहरूमा राखिएको बताइएको छ। तर, कुन–कुन होटलमा कति व्यक्तिलाई राखिएको भन्ने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।

सहरी विकास मन्त्रालयकी विकास आयुक्त जानुका ढकालले विस्थापितहरू अझै सरकारको सम्पर्कमा आउने क्रम जारी रहेको बताउँदै विवरण अद्यावधिक भइरहेको जानकारी दिइन्। तर, बस्ती पूर्ण रूपमा हटाइसक्दा पनि यकिन तथ्यांक सार्वजनिक नगरिनुले विस्थापितहरूको व्यवस्थापन, राहत तथा पुनर्स्थापनामा सरकारी तयारी र समन्वयमाथि गम्भीर प्रश्न उठाएको छ।