काठमाडौं, वैशाख १८ :

विश्वमा नै भगवान चतुर्मुख ब्रह्माका मन्दिरहरू अत्यन्तै दुर्लभ मानिन्छन्। विश्वभर नै ब्रह्माका मन्दिर कम पाइने भएकाले नेपालमा रहेका केही ऐतिहासिक स्थलहरू विशेष महत्त्व राख्छन्। तीमध्ये जयबागेश्वरी (पशुपति क्षेत्र) र ललितपुरको नालाका मन्दिरहरू उल्लेखनीय छन्। साथै, पनौतीको त्रिवेणी घाटस्थित ब्रह्मायणी मन्दिर पनि यस सन्दर्भमा महत्त्वपूर्ण धार्मिक स्थल हो।

काठमाडौं महानगरपालिका–८, गायत्री मार्गस्थित जयबागेश्वरी नजिक रहेको चतुर्मुख ब्रह्मा मन्दिर अत्यन्तै प्राचीन इतिहास बोकेको छ। यो मन्दिर छैटौँदेखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ। मन्दिरमा स्थापित चतुर्मुख ब्रह्माको मूर्ति एउटै ढुङ्गाबाट निर्मित दुर्लभ कलाकृति हो, जुन विश्वमै अत्यन्त कम संख्यामा पाइन्छ। यो मन्दिर  जयबागेश्वरी नजिकै रहेको न्यू–पुष्पान्जली पेट्रोलपम्प पछाडि, गोल्डेन दरबार पार्टी प्यालेस र तत्कालीन बीपी कोइरालाको निवास अगाडि रहेको छ ।

विक्रम संवत् १९९० को विनाशकारी भूकम्पभन्दा अगाडि नै यो मन्दिर भत्किसकेको थियो र लामो समयसम्म भग्नावशेषकै रूपमा रह्यो। लामो समयको प्रतीक्षा पछि, काठमाडौं महानगरपालिकाको पहलमा मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरियो।  पुनर्निर्माणको शिलान्यास काठमाडौं महानगरपालिका तत्कालीन मेयर  बालेन्द्र शाहद्वारा गरिएको थियो। पुनर्निर्माणपछि मूर्तिलाई विधिपूर्वक प्राणप्रतिष्ठा (पुनःस्थापना) गरी पुरानै स्थानमा स्थापित गरिएको छ।

विक्रम संवत् २०३६|०३७ सालतिर नै हराएको ब्रह्माको उक्त मूर्तिपछि तिलगङ्गा नजिकै चक्रपथ छेउमा बालुवाले पुरिएको अवस्थामा फेला पारिएको थियो ।  ४० वर्षदेखि संरक्षणको अभावमा महानगरीगय प्रहरी बृत्त गौशालाको प्राङ्गणमा सुरक्षित राखिएको छैटौं शताब्दीको ऐतिहासिक उक्त मूर्तिलाई गत वर्षनै मन्दिरमा पुनःस्थापना गरिएको हो ।

यो मन्दिर निर्माणमा परम्परागत शैली अपनाइएको छ, जसमा ईटा र विशेष शुद्ध माटोको प्रयोग गरिएको छ। यसले हाम्रो प्राचीन वास्तुकला र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। हराउँदै गएको सांस्कृतिक धरोहरलाई पुनर्जीवन दिनु यस परियोजनाको प्रमुख उपलब्धि मानिन्छ।

हाल यो मन्दिर सर्वसाधारणका लागि दैनिक रूपमा खुला गरिएको छ। बिहान ६ बजेदेखि १० बजेसम्म भक्तजनहरूले प्रत्यक्ष दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

जयबागेश्वरीस्थित चतुर्मुख ब्रह्मा मन्दिर  केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपालको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको अमूल्य धरोहर पनि हो। यसको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो।