धनगढी, वैशाख २६ :

नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलाको आयोजना गर्दैछ ।

नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलाका लागि सभापति गगनकुमार थापा सहभागी हुनेछन् ।  यो प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल हुने बताईएको छ ।

सभापति गगनकुमार थापा, पार्टीका उपसभापति विश्व प्रकाश शर्मा लगायतले भेलालाई सम्बोधन गर्नेछन् ।

विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेशबाट वर्तमान सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेको हो ।

भेलाका लागि सुदूरपश्चिम प्रदेश समितिका तथा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरू, प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेश सभामा रहेका सांसदहरू, सबै जिल्ला सभापति, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, पालिकामा विजयी भएका पार्टी सभापतिहरू, कैलाली जिल्लाका सबै पदाधिकारी, प्रतिनिधि सभा, क्षेत्रीय, प्रदेश तथा पालिका सभापतिहरूलाई आमन्त्रण गरिएको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका छन्। ।थापालाई स्वागत गर्न  मुख्यमन्त्री कमल बहादुर शाह विमानस्थल पुगेका थिए ।

प्रत्येक सहभागीबाट २ हजार ५ सय रुपैयाँ दर्ता शुल्कसमेत निर्धारण गरिएको छ । पत्रमा कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्ने र स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गरेको छ ।

कार्यक्रममा सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ सुन्ने कार्यक्रम रहनेछ । त्यसपछि केन्द्रीय नेताहरू बोल्नेछन् ।

२७ गते स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य तथा सरकारका प्रतिनिधि, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरूको प्रशिक्षण राखिएको छ । उनीहरूलाई उपसभापति विश्वप्रकाश शर्माले प्रशिक्षण दिनेछन् ।