काठमाडौं, वैशाख २७ :

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले रोग लागिसकेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिन सबै नगरवासी सचेत हुनुपर्नेमा जोड दिएका छन्।

गोकर्णेश्वर नगरपालिका ले ‘योग नगर’ घोषणा गरेको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख रिसालले स्वस्थ जीवनशैली अपनाउन नियमित योग, परिश्रम र अनुशासन आवश्यक रहेको बताए।

गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा आयोजित कार्यक्रममा उनले बिहान चाँडै उठ्ने बानी बसाल्न, दैनिक योग गर्न र शारीरिक श्रमलाई जीवनसँग जोड्न आग्रह गरे। “सबैले बिहानै उठ्नुपर्छ, योग र परिश्रम गर्नुपर्छ,” उनले भने, “योगलाई स्वास्थ्यसँग जोडेर नै गोकर्णेश्वरलाई स्वस्थ सहर घोषणा गरिएको हो।”

रिसालले गोकर्णेश्वर ७५३ स्थानीय तहमध्ये ‘स्वस्थ सहर’ घोषणा गर्ने पहिलो नगरपालिका भएको उल्लेख गर्दै नगरपालिकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन आठ वटा ठूला अस्पतालसँग सम्झौता गरेको जानकारी दिए। रोग लागिसकेपछिको अवस्थाका लागि विभिन्न संस्थासँग सहकार्य गरिएको र नगर अस्पतालमा दैनिक सयौं बिरामी उपचारका लागि आउने गरेको उनले बताए।

नगरपालिकाले योगलाई दैनिक जीवनसँग जोड्दै स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माण गर्ने उद्देश्यका साथ ‘योग नगर’ अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

‘गोकर्णेश्वर स्वस्थ सहर’  अभियानअन्तर्गत आयोजित कार्यक्रममा योग अभ्यास, स्वास्थ्य सचेतना तथा निरोगी जीवनशैलीबारे जानकारी दिइएको थियो। कार्यक्रममा नगरवासी, योग साधक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।