
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको आवासको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
विश्व बसोबास दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानमा व्यवस्था गरेअनुसार सीमान्तकृत, घरबारविहीन, सामाजिक तथा आर्थिक रूपले पछिपरेका नागरिकको आवासको हक सुनिश्चित गर्न सरकार लागिरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले सहरी विकासमा युवाको संलग्नता बढाउन सरकारले पहल थाल्ने बताउनुभएको छ ।
यसका लागि सहरी विकास मन्त्रालय, जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रम सञ्चालन गरी सरकार ग्रामीण क्षेत्रका नागरिकको समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर रहेको उहाँले बताउनुभयो ।
नेपाल सरकारको तर्फबाट सहरी विकासमा युवाको संलग्नता विषयका लागि गर्नुपर्ने प्रयासलाई निरन्तरता दिने उहाँको भनाइ छ । युवा जनसङ्ख्याको गतिशील र शक्तिशाली हिस्सालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसर उपलब्ध गराई उनीहरूको सिर्जनात्मक शक्तिलाई वृहत्तर राष्ट्रिय हित सँगसँगै समग्र सहरी विकासमा पनि समाहित गर्नु आजको प्रमुख आवश्यकता भएको उपप्रधानमन्त्री सिंहको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले दिगो विकास एजेण्डा- ०३० को लक्ष्य ८ ले सबैका लागि समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण उत्पादकमूलक र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने र लक्ष्य ११ मा सहर र मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य लिएकाले सोहीअनुसार सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशप्रसाद सिंहले वातावरणमैत्री सहरी पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
सहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले पछिल्लो समय युवा पुस्ता विदेशिने क्रम बढेसँगै सहरी विकासमा युवाको संलग्नता बढाउने योजना कार्यन्वयनमा चुनौती देखिएको धारणा राख्नुभयो ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले दिगो सहरी विकासका लागि युवा सङ्लग्नता बढाउनुपर्ने र यसका लागि शिक्षा, स्वास्थ्य रोजगारीलगायतका सुविधा तथा अवसर सिर्जनामा जोड दिनुपर्ने बताउनुभयो ।
मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हन्ना सिगर हाम्दीले सहरी विकासमा युवा वर्गको संलग्नताबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख धनश्याम गिरिले पनि सहरी विकासमा युवा संलग्नता बढाउनका लागि योजनावद्ध रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
‘कर्मशील युवाः समुन्नत सहर’ भन्ने नारासहित यस वर्ष दिवस मनाइँदै छ । युएन- ह्याबिट्याटबाट सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आएकामा नेपालमा पनि सन् २००१ देखि उक्त दिन विश्व बसोबास दिवस मनाउन थालिएको हो ।