नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ ।
एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन समेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय तह केन्द्रित र जन सङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ ।
एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिमरूप दिई सर्कुलर पठाउने निर्णय भएको उप महासचिव लेखराज भट्टले जानकारी दिए । तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सम्बोधन गर्दे पार्टीमा एकता कायम राख्न आग्रह गरेका थिए ।
बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षा लगायतका विषयमा थप अध्ययन गरी एक महिनाभित्र सुझाव दिन पार्टीका उपाध्यक्ष राम बहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको भट्टले जानकारी दिए । समितिमा उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल र पृथ्वी सुब्बा गुरुङ, महासचिव पोखरेल, उप महासचिव भट्ट, सचिवहरू छवि राज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठ प्रदेशका इञ्चार्ज रहने निर्णय भएको नेता भट्टले बताए ।
विसं २०७२ को भूकम्पबाट पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि विभिन्न ठाउँमा कार्यालय सञ्चालन गर्दै आएकोमा सचिवालय बैठकले मदन नगर बल्खु स्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उप महासचिव भट्टले जानकारी दिए ।
सो पार्टीको केन्द्रीय कमिटीको बैठक आउँदो असार दोस्रो साता बस्ने तय भएको छ ।