
कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछी उनीहरूलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
धनगढी उपमहानगरपालिका- २ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछी आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
हिजोआज स्थानीय घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने बिताउने गरेका छन् । केही दिनदेखि बादल लागेर पानी पर्ने जस्तो मौसम देखिन थालेपछी लगानी र परिश्रम खेर जाने हो की भन्दै अधिकांश किसानका मनमा चिन्ता हुन थालेको छ ।
खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्राउनका लागि थ्रेसरको पालो कुर्नुपरेको दुखेसो पोख्नुभयो ।
हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यतिबेला मौसमी गडबडीका कारण आधुनिक उपकरण प्रयोग गरि धान भित्र्याउन लागि परेका छन् ।