काठमाडौं, जेठ २२ :

गोकर्णेश्वर नगरपालिकाभित्रका जैविक फोहोरलाई व्यवस्थापन गर्दै कम्पोस्ट मल उत्पादन गर्ने कार्यको औपचारिक सुरुवात गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा 'क्रियटिभ सरसफाइ प्रालि' ले सुन्दरीजलमा बृहत् प्लान्ट स्थापना गरेर कम्पोस्ट मल उत्पादन कार्यको सुरुवात गरेको हो ।

सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले फोहोर व्यवस्थापनलाई नगरपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताएका छन्। पछिल्लो समय निजी क्षेत्रसँगको सहकार्य र नवीन सोचका कारण फोहोर व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल भइरहेको उनको भनाइ थियो।

उनका अनुसार हाल नगरपालिकाबाट निस्कने करिब ८० प्रतिशत फोहोरको व्यवस्थापन स्थानीय स्तरमै भइरहेको छ। पुनःप्रयोग (रिसाइकल) गर्न सकिने सामग्रीलाई रिसाइकल गरिने तथा बाँकी जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गर्ने योजनालाई नगरपालिकाले प्राथमिकतामा राखेको छ।

“घरघरबाट निस्कने फोहोरमध्ये करिब ६० प्रतिशतभन्दा बढी किचन वेस्ट अर्थात् जैविक फोहोर हुन्छ। यसलाई कम्पोस्ट मलमा रूपान्तरण गर्न सक्यौं भने फोहोर व्यवस्थापनको ठूलो समस्या समाधान हुनेछ,” रिसालले भने।

उत्पादन गरिएको कम्पोस्ट मल स्थानीय किसानसम्म सहज रूपमा पुर्‍याउन सके कृषि उत्पादन वृद्धि हुनुका साथै रासायनिक मलमा निर्भरता घट्ने उनको विश्वास छ।

रासायनिक मल र विषादीको अत्यधिक प्रयोगका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको उल्लेख गर्दै उनले जैविक खेतीलाई प्रोत्साहन गर्न नगरपालिकाले विशेष नीति ल्याउने तयारी गरिरहेको जानकारी दिए।

नगर प्रमुख रिसालले कृषि क्षेत्रको आधार ‘मल र जल’ रहेको उल्लेख गर्दै सिँचाइ र मलको उपलब्धताबिना कृषि उत्पादन सम्भव नहुने बताए। नगरपालिकाले आगामी नीति तथा कार्यक्रममा कम्पोस्ट मल उत्पादन र वितरणलाई विशेष प्राथमिकता दिने पनि उनले बताए।

रिसालले ९० देखि ९५ प्रतिशत फोहोर स्थानीय स्तरमै व्यवस्थापन गर्ने दाबी गरे। यसबाट वातावरण संरक्षण, आम्दानी वृद्धि र स्थानीय उत्पादन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनले बताए। “फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्न सक्यौं भने नगरवासीलाई स्वच्छ वातावरण र किसानलाई गुणस्तरीय मल उपलब्ध गराउन सकिन्छ,” उनले भने।

यसैगरी अन्य वक्ताहरूले यस केन्द्रको स्थापनासँगै नगरपालिका भित्रको जैविक (कुहिने) फोहोरको दीर्घकालीन व्यवस्थापन हुने, वातावरण संरक्षणमा टेवा पुग्ने र हरित भविष्य निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सुन्दरीजलमा सुरु भएको यस बृहत् प्लान्टले नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनमा कोशेढुङ्गा साबित हुने र स्थानीय किसानहरूलाई गुणस्तरीय प्राङ्गारिक मल उपलब्ध गराउन सहयोग पुर्‍याउने क्रियटिभ सरसफाइ प्रालिले जनाएको छ।

फोहोरलाई समस्याका रूपमा मात्र नहेरी यसलाई बहुमूल्य स्रोतका रूपमा उपयोग गर्दै स्वच्छ वातावरण र दिगो कृषिको प्रवर्द्धनमा यो परियोजनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।