
नेपाल विविध धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो। यिनै सम्पदामध्ये धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारको फेदीमा अवस्थित ‘नृसिंह धाम’ अहिले एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित छ। धादिङबेसीबाट करिब २९ किलोमिटर उत्तर–पश्चिममा रहेको यो पवित्र स्थल नेपालकै एकमात्र नृसिंह धाम मानिन्छ।
बुढीगण्डकी नदी र नेत्रावती (आँखु) नदीको संगमस्थलमा अवस्थित यो धाम प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरणले भरिपूर्ण छ। गोर्खा र धादिङ जिल्लाको सिमानामा रहेको यस दोभान क्षेत्रलाई प्राचीनकालदेखि नै भगवान् नृसिंहको उत्पत्तिस्थलका रूपमा श्रद्धापूर्वक स्मरण गरिँदै आएको छ।
सनातन धर्मअनुसार भगवान् विष्णुको चौथो अवतारका रूपमा भगवान् नृसिंहलाई पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार भक्त प्रह्लादले कठोर तपस्या गर्दा भगवान् नृसिंह नदीबाट प्रकट भई दर्शन दिनुभएको थियो भन्ने शास्त्रहरुमा उल्लेख छ। त्यसै घटनाको स्मरणस्वरूप उक्त नदीलाई नारसिंहे भनिन थालियो, जुन कालान्तरमा नेत्रावती (आँखु) नदीका रूपमा परिचित भयो। स्थानीय जनविश्वासअनुसार नेत्रावती नदी भगवान् शिवको नेत्रबाट उत्पन्न भएकी हुन् भन्ने मान्यता पनि रहिआएको छ।
नृसिंह धामको अर्को विशेषता यहाँ लाग्ने एक महिने धार्मिक मेला हो। विशेषगरी पुरुषोत्तम महिना अर्थात् अधिक मासमा लाग्ने यस मेलामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत हजारौं श्रद्धालु तीर्थयात्रीहरू सहभागी हुने गर्दछन्। करिब तीन वर्षको अन्तरालमा आउने अधिक मासका अवसरमा यहाँ धार्मिक अनुष्ठान, कथा प्रवचन, भजन–कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिन्छन्।
वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले पुरानो मन्दिरमा क्षति पुर्याएपछि पुनर्निर्माणका क्रममा लिच्छवीकालीन सिक्का, इँटाका मूर्ति तथा अन्य पुरातात्त्विक अवशेषहरू फेला परेका थिए। यसले यस क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई अझ स्पष्ट बनाएको छ।
हाल नृसिंह धाम धार्मिक केन्द्र मात्र नभई सनातन संस्कृति संरक्षण र प्रसारणको जीवित केन्द्रका रूपमा विकसित भइरहेको छ। यहाँ गुरुकुल सञ्चालनको व्यवस्था गरिएको छ भने गौशाला, भण्डार कक्ष तथा अन्य पूर्वाधारहरूको निर्माण सम्पन्न भइसकेको छ। भक्तजनहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। तीर्थयात्रीहरूको सुविधाका लागि सामान्य आवास, खानपान तथा प्राथमिक स्वास्थ्य उपचारका व्यवस्थासमेत गरिएको पाइयो।
नदी, पहाड र हरियालीले घेरिएको यो क्षेत्र प्राकृतिक दृष्टिले पनि अत्यन्त रमणीय छ। धार्मिक आस्था, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको अद्भुत संगम भएकाले नृसिंह धाम आन्तरिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सफल भएको छ।
नृसिंह धाम केवल एक धार्मिक तीर्थस्थल मात्र नभई नेपाली सभ्यता, संस्कृति र आध्यात्मिक चेतनाको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ। यसको संरक्षण, प्रचार–प्रसार र विकासमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक देखिन्छ। नेपालको धार्मिक पर्यटन विकासमा यस धामले आगामी दिनहरूमा अझ ठूलो योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।
तस्बिर : सुरेन्द्र पौड्याल/ सक्रिय न्युज