
स्थानीयवासीको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ।
कागेश्वरी मनोहरा नगरपालिका र कागेश्वरी मनोहरा नगर अस्पतालको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त शिविरमा शनिबार वडा नं. ९ का ६० वर्ष वा सोभन्दा माथिका करिब ४ सय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।
‘उपप्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम’ निरन्तर सञ्चालनमा रहेको अवस्थामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ समेत सुरु गरिएको हो। यो कार्यक्रम अब हरेक शनिबार निरन्तर सञ्चालन हुने समेत जनाइएको छ ।
विशेष स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण, मुटुरोग, हाडजोर्नी, दन्तरोग, फिजियोथेरापी, भिडियो एक्स–रे तथा मनोपरामर्शलगायत विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो। साथै, ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा परीक्षण गरी आवश्यक चस्मा तथा औषधि वितरण गरिएको थियो। सेवाग्राहीलाई अस्पतालसम्म आउन–जान सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले निःशुल्क यातायातको व्यवस्था समेत गरेको थियो।
विशेषज्ञ चिकित्सकको टोलीबाट घरनजिकै निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा स्थानीय ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन्। नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्नुका साथै समुदायमा स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।
शिविरको निरीक्षण गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक तथा अनुभवका भण्डार भएकाले उनीहरूको स्वास्थ्य, सम्मान र सुरक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। घर नजिकै गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको नगरपालिकाले १०० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणको दिशामा अगाडि बढेको छ । हाल सञ्चालनमा रहेको मूलपानी नगर अस्पताललाई स्तरोन्नति गरेर १०० शय्या बनाउने प्रक्रिया अघि बढाइएको हो। यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न नगरप्रमुखक कार्की नेतृत्वको टोलीले अस्पतालको योजनासहितको सम्पूर्ण विवरण बागमती प्रदेशका मुख्यमन्त्रीसमक्ष बुझाइसकेको छ ।
नगरपालिकाले युवा वर्गका लागि सीप विकास तालिममार्फत रोजगारी प्रवर्द्धन गर्दै आएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।