
श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वेल घेराउ र नाराबाजी गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूको नाम बोल्ने सूचीमा नभएको भन्दै बोल्ने समय नदिएपछि विवाद बढेको हो। त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरूले संसदको वेल घेराउ गर्दै नाराबाजी गरेका हुन्।
बैठकमा पहिले परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे धारणा राखेका थिए। त्यसपछि प्रमुख प्रतिपक्ष र अन्य दलका नेताहरू—भीष्मराज आङ्देम्बे, रामबहादुर थापा बादल, प्रमेश हमाल र ज्ञानेन्द्र शाहीले आ–आफ्ना धारणा राखेका थिए। सो पार्टीका अध्यक्षसमेत रहेका हर्कराज राई सहितका सांसदहरूले सभामुखको निर्णयप्रति आपत्ति जनाउँदै आफूहरूलाई बोल्न नदिएको भन्दै विरोध जनाएका हुन्।