
‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना मनाइएको छ ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिले आइतबार काठमाडौंमा योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताए । विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठनपाठन पनि सुरु भइसकेको उनले जानकारी गराए ।
योगको धेरै प्रचारप्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण सुरु भइसकेको मुख्यसचिव अर्यालले बताए ।
त्यस्तै दिवसका अवसरमा पतंजली योग समिति, नेपालले पनि काठमाडौंको खुल्लामञ्चमा योगाभ्याससहितको कार्यक्रम आयोजना गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।