काठमाडौं, असार १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चितवनमा जारी छ । साँझ साढे ७ बजेबाट निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी प्रवक्ता मनिष झाले बताए ।

प्रवक्ता झाका अनुसार एक जना केन्द्रीय सदस्यका लागि ७ देखि १० मिनेट मतदानका लागि समय लाग्नेछ । मतदानका लागि करिब ६ घण्टा समय लाग्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । राति १/२ बजेसम्म केन्द्रीय समितिको नतिजा सार्वजनिक भइसक्ने झाले बताए । मतदानका लागि ७५ वटा विद्युतीय मेसिन तयार पारिएको छ ।

९९ जना केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ । जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यमा एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् । सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेस प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ३१ जना, कोसी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ३१ जना, बागमती प्रदेशमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।

रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत करिब ४ हजार प्रतिनिधि सहभागी छन् । यद्दपी दावीविरोधपछि मात्रै उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने भएकाले विद्युतीय मतदान प्रणालीमा नाम प्रवृष्टि गर्न केही समय लाग्ने देखिएको छ । रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।