चितवन, असार ११ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धा गरेकी नेतृ टिका संग्रौला (ज्वाला)ले मतपत्रमा आफ्नो ‘ज्वाला’ उपनाम उल्लेख नगरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी छन्।

उम्मेदवारी दर्ता गर्दा आफूले ‘टिका संग्रौला (ज्वाला)’ नाम उल्लेख गरेको भए पनि मतदानका क्रममा प्रयोग गरिएको मतपत्रमा ‘ज्वाला’ उपनाम हटाइएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै संग्रौलाले अन्य उम्मेदवारहरूको परिचित नाम वा उपनाम समावेश गरिएको अवस्थामा आफ्नो मात्र हटाइएको भन्दै प्रश्न उठाएकी छन्।

उनले लेखेकी छन्, ‘पार्टीको केन्द्रीय समितिमा यही नाम, महाधिवेशन प्रतिनिधिमा यही नाम, उम्मेदवार हुँदा यही नाम, तर जब भोटिङ मेसिन खुल्छ, ब्राकेटभित्रको नाम गायब हुन्छ। फेरि अरू साथीहरूको चाहिँ सबैको छ, मेरो मात्र मेसिनले खाएछ। भोट दिने साथीहरूले ज्वाला खोज्दा खोज्दै भोटिङको समय समाप्त, ग्यान पनि समाप्त..!’

संग्रौलाले आफ्नो परिचित उपनाम मतपत्रबाट हटाइनु सामान्य प्राविधिक त्रुटि मात्र नभई नाममाथि नै राजनीति गरिएको जिकिर गरेकी छन्। सोही विषयमा आफूले निर्वाचन आयोगमा औपचारिक उजुरी दिएको जानकारी पनि उनले दिएकी छन्। ‘नाममै समेत राजनीति गरिएकोले निर्वाचन आयोगमा उजुरी दिएकी छु,’ उनले फेसबुकमा उल्लेख गरेकी छन्।