
भेनेजुएलाको राजधानी कराकस र आसपासका क्षेत्रमा केही सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निट्यूड र त्यसको ३९ सेकेन्डपछि दोस्रो ७.५ म्याग्निट्यूडको भूकम्प गएको थियो।
स्थानीय समयअनुसार साँझ ६ बजेपछि आएका भूकम्पका कारण मानिसहरू घर तथा भवनबाट बाहिर निस्किएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विमानस्थल क्षेत्रबाट धुलो उडिरहेको तथा मानिसहरू भाग्दै गरेको दृश्य देखिएका छन्।
भेनेजुएलाको भूकम्पमा परी कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने एक हजार जना घाइते भएका छन्। यद्यपि भूकम्पबाट भएको वास्तविक क्षति अझै मूल्याङ्कनकै क्रममा रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। उद्धारकर्ताहरूले भत्किएका भवनहरूको खोजी गरिरहेका छन्
यूएसजीएसले प्रारम्भिक विश्लेषणका आधारमा मृतकको संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको जनाएको छ। यसले भूकम्पबाट व्यापक जनधनको क्षति भएको हुन सक्ने संकेत गरेको छ।
भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर सङ्कटकाल घोषणा गरेकी छन्। उनले क्षतिको मूल्याङ्कन जारी रहेको र सुरक्षाका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको जानकारी दिइन्।
अमेरिकाद्वारा राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि रोड्रिगेजले हाल देशको नेतृत्व गरिरहेकी छन्।
यस घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि दुःख व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पपीडितप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता भेनेजुएलातर्फ पठाइरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले भूकम्पमा ज्यान गुमाउनेहरूका परिवार, घाइतेहरू तथा राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति समवेदना व्यक्त गरेका छन्।
यसअघि अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले पनि अमेरिका भेनेजुएलाका अधिकारीहरूसँग सम्पर्कमा रहेको र आवश्यक सहयोग परिचालन गर्ने तयारी भइरहेको बताएका थिए।
अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र बनाइएको र भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताएका छन्।