
सरकारले कक्षा १२ को नतिजालाई लिएर विद्यार्थीहरूले गरेको प्रदर्शनपछि परीक्षाको विश्वसनीयता र पारदर्शिताबारे छानबिन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले नतिजा प्रकाशन प्रक्रियाको अध्ययन गर्न विशेष समिति बनाएको हो।
मन्त्रालयका अनुसार उपसचिव स्तरका अधिकारीहरू तथा पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिसमेत रहने समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण (स्याम्पलिङ), प्राप्ताङ्क तथा डेटा इन्ट्रीको प्रमाणीकरण गर्नेछ। यसले नतिजा प्रकाशन प्रक्रिया सही र विश्वसनीय तरिकाले सम्पन्न भएको छ कि छैन भन्ने विषयमा अध्ययन गर्नेछ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशन प्रक्रिया पूर्ण रूपमा स्पष्ट, पारदर्शी र विश्वसनीय रहेको दाबी गरेका छन्। उनले नतिजा प्रकाशनमा कुनै हतार नगरी आवश्यक जनशक्ति थपेर तथा प्रशासनिक प्रक्रियालाई सरल बनाउँदै तोकिएकै समयमा नतिजा सार्वजनिक गरिएको स्पष्ट पारे।
विद्यार्थीहरूले ४० दिनमै नतिजा प्रकाशित गरिएको भन्दै त्रुटि भएको आशंकासहित आन्दोलन गरिरहेका छन्। तर मन्त्री पोखरेलले नतिजामा त्रुटि भएको दाबीलाई अस्वीकार गर्दै शान्तिपूर्ण आवाज र विरोधको सम्मान गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, सामाजिक सञ्जालमा विद्यार्थीहरूप्रति भइरहेका नकारात्मक, अपमानजनक तथा असम्मानजनक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले त्यस्ता व्यवहार नगर्न सबैसँग आग्रह गरेका छन्। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका व्यक्ति वा समूहप्रति दुर्व्यवहार, गालीगलौज वा अपमानजनक शब्द प्रयोग नगर्न पनि उनले अनुरोध गरेका छन्।