काठमाडौं, असार १६ :

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको वर्तमान शासकीय स्वरूपमाथि धावा बोल्ने कोसिस भइरहेको भन्दै यसले राम्रो संकेत नगर्ने चेतावनी दिएका छन् ।

६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा नेता आङ्देम्बेले राजनीतिक नेतृत्वको अकर्मण्यता र कमजोरीको दोष व्यवस्थालाई थोपर्नु राजनीतिक अपरिपक्वता भएको समेत बताएका छन् ।

यसले राम्रो संकेत नगर्ने चेतावनी दिदै उनले ‘हाम्रो आफ्नै अकर्मण्यता, सोचको अपरिपक्वता र कमजोरीको दोष हामीले शासकीय स्वरूपलाई थोपरिरहेका छौँ। यो व्यवस्थालाई राम्रोसँग नबुझी र पूर्ण रूपमा अभ्यास नै नगरी प्रश्न उठाउनु किमार्थ उचित नहुने उनले भने ।

मुलुकले अङ्गीकार गरेको सात प्रदेश र तीन तहको सरकारको संरचना कुनै लहडमा नआएको भन्दै आङ्देम्बेले यसलाई जोगाउनुपर्ने बताए ।

आङ्देम्बेले व्यवस्था बदल्ने कुरा गर्नुभन्दा पनि वर्तमान संरचनामार्फत नै जनतालाई वास्तविक लोकतन्त्र र विकासको अनुभूति गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  उनले ऐतिहासिक निष्कर्षका रूपमा रहेको वर्तमान संविधान र शासकीय स्वरूपमाथि प्रश्नचिह्न खडा नगर्न बरु यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरेका छन्  ।