
जुलियन किन्योनेस र राउल जिमेनेजले पहिलो हाफमा नौ मिनेटको अन्तरमा गोल गरेपछि मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै ४० वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको छ।
यससँगै मेक्सिकोले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
किन्योनेसले खेलको २२औँ मिनेटमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए भने जिमेनेजले ३१औँ मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
मेक्सिकोले यसअघि सन् १९८६ मा आफ्नै भूमिमा आयोजित विश्वकपको अन्तिम १६ मा बुल्गेरियालाई पराजित गरेपछि नकआउट चरणमा कुनै जित निकाल्न सकेको थिएन।
त्यसपछि मेक्सिको सन् १९९४, १९९८, २००२, २००६, २०१०, २०१४ र २०१८ का विश्वकपमा लगातार अन्तिम १६ बाट बाहिरिएको थियो।
सन् २०२२ को कतार विश्वकपमा भने मेक्सिको सन् १९७८ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको थियो।
अब मेक्सिकोले आइतबार अन्तिम १६ मा इंग्ल्यान्ड र कंगोबीच बुधबार हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल पनि मेक्सिकोले आफ्नै घरेलु मैदानमा खेल्नेछ।
यस खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। मेघ गर्जनसहितको वर्षाका कारण खेल तालिका प्रभावित भएको हो।
विश्वकप २०२६ मा मौसमका कारण प्रभावित भएको यो दोस्रो खेल हो। यसअघि जुन २२ मा फिलाडेल्फियामा भएको फ्रान्स–इराक खेल पनि आँधीका कारण पहिलो हाफको अन्त्यमा २ घण्टा ११ मिनेटका लागि रोकिएको थियो।