
पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट उनलाई पक्राउ गरेको हो।
कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जती मुद्दामा भण्डारीलाई दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको थियो। अदालतले उनलाई १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला पनि गरेको थियो।
तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशित गरिएको दाबी गर्दै भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
निर्मला पन्त २०७५ साउन १० गते भीमदत्त नगरपालिका–२ स्थित घरबाट साथीको घरमा पढ्न जाने भन्दै निस्किएकी थिइन्। भोलिपल्ट उनको शव भीमदत्त नगरपालिका–१८ स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो।
बलात्कारपछि हत्या गरिएको उक्त घटनाका वास्तविक आरोपी हालसम्म पहिचान हुन सकेका छैनन्। घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ।