
इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोलीले विश्वकपको नकआउट चरणमा अस्ट्रेलियामाथि हासिल गरेको ऐतिहासिक जितलाई प्यालेस्टाइनका जनताप्रति समर्पित गरेका छन्।
यस जितपछि प्यालेस्टाइनसहित सम्पूर्ण अरब विश्वभर रातभर उत्सव मनाइएको थियो।
शुक्रबार डलास स्टेडियममा भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा इजिप्टले अतिरिक्त समयसम्म १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई ४–२ ले पराजित गर्दै विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणको जित दर्ता गर्यो।
पेनाल्टी सुटआउटमा इजिप्टका होसाम अब्देलमगुइदले निर्णायक गोल गरे। अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरीङ्टनले पेनाल्टी चुकाएपछि इजिप्ट अन्तिम १६ मा प्रवेश गर्न सफल भयो, जहाँ उसले अर्जेन्टिना वा केप भेर्डेसँग प्रतिस्पर्धा गर्नेछ।
इजिप्टका इमाम आशौरले खेलको १३औँ मिनेटमा हेडरमार्फत अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ५५औँ मिनेटमा मोहम्मद हानीबाट भएको आत्मघाती गोलपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक होसाम हसनले भने, “अल्लाहले उनीहरू (प्यालेस्टिनीहरू) लाई विजय प्रदान गरून्, उनीहरूका शहीदहरूमाथि कृपा गरून्।”
उनले थपे, “म भन्न चाहन्छु, यो जित म इजिप्टका जनता र प्यालेस्टाइनका दयालु तथा सम्मानित जनतालाई समर्पित गर्दछु।”
ऐतिहासिक जितपछि हसनले मैदानमा इजिप्ट र प्यालेस्टाइन दुवै देशका झण्डा बोकेर प्रवेश गरेका थिए। त्यसपछि सम्पूर्ण टोलीले मैदानमै बसेर विजयको धन्यवाद व्यक्त गरेको थियो।