
अज्जेदिन ओउनाहीले दुई गोल गरेपछि मोरक्कोले विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा क्यानडामाथि ३–० को शानदार जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
यससँगै एटलस लायन्स (मोरक्को) दुई पटकभन्दा बढी विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।
सन् २०२२ मा पहिलो अफ्रिकी टोलीका रूपमा सेमिफाइनल पुगेपछि मोरक्कोले लगातार दोस्रो पटक विश्वकपको अन्तिम आठ (क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको हो।
क्यानडाले खेलको सुरुआती चरणमा राम्रो पकड बनाए पनि शनिबारको खेलमा पहिलो गोल गर्न सकेन। खेलको ५०औँ मिनेटमा मोरक्कोले अग्रता लियो। अच्राफ हाकिमीको फ्रिकिक पासमा अज्जेदिन ओउनाहीले पेनाल्टी क्षेत्रबाहिरबाट दायाँ खुट्टाले प्रहार गरेको बल भीड छिचोल्दै गोलपोस्टको दायाँ कुनामा पुग्यो।
८२औँ मिनेटमा ब्राहिम डियाजको पासमा तीव्र प्रतिआक्रमण गर्दै ओउनाहीले अर्को गोल गरे र मोरक्कोलाई २–० को अग्रता दिलाए।
घाइते भएका इस्माइल सैबारीको स्थानमा २२औँ मिनेटमै मैदान प्रवेश गरेका सौफियान रहिमीले इन्जुरी समयको अन्तिम मिनेटमा तेस्रो गोल थप्दै मोरक्कोको जित सुनिश्चित गरे।
अब मोरक्कोले क्वार्टरफाइनलमा फ्रान्ससँग बिहीबार बोस्टनमा प्रतिस्पर्धा गर्नेछ।
यस हारसँगै विश्वकपका सह–आयोजक क्यानडाको ऐतिहासिक यात्रा समाप्त भएको छ। क्यानडाले यसअघि दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको थियो। विश्वकपमा तेस्रो पटक सहभागी भएको क्यानडाले आफ्नो प्रदर्शनमार्फत फुटबलभन्दा हकीमा बढी रुचि राख्ने देशका समर्थकहरूको मन जितेको थियो।
फिफा वरीयतामा छैटौँ स्थानमा रहेको मोरक्कोले अन्तिम १६ मा पुग्ने क्रममा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै डच टोलीलाई यस विश्वकपबाट अपेक्षाभन्दा चाँडै बाहिरिन बाध्य बनाएको थियो।