
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्ताव प्रस्तुत हुनेछन्।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन्। अनुमति प्राप्त भएपछि उक्त विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरिने कार्यसूची रहेको छ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग सम्बन्धित दुई महासन्धिमाथि विचार गरियोस् भन्ने छुट्टाछुट्टै प्रस्ताव पेस गर्नेछन्।